सल्यान, श्रावन ९ गते ।
सल्यानमा सवैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना (सुस्वा) का कर्मचारीहरुको लागि ५ दिने तालिम सोमबार देखि बरला सल्यानमा शुरु भएको छ । विशेष गरी सल्यानको बन्गाडकुपिण्डे नगरपालिका, छत्रेश्वरी गाउँपालिका र सिद्धकुमाख गाउँपालिकामा भर्खरै मात्र छनौट भएका वास युनिटका कर्मचारीहरु क्रमशः वास संयोजक, वास सहजकर्ता, प्राविधिक सहजकर्ता र सामाजिक परिचालकको लागि तीनवटै पालिकाद्वारा संयुक्तरुपमा तालिम आयोजना गरिएको हो । तालिमको उद्घाटन समारोहमा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीको अध्यक्षता तथा छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री र सिद्ध कुमाख गाउँपालिकाका उपाध्यक्ष राम बहादुर बस्नेतको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै तीनवटै पालिकाबाट प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत, कार्यक्रमका फोकल पर्सन, इन्जिनियर, लेखा अधिकृत र सूचना अधिकारी लगायतको सहभागिता थियो । तालिमको पहिलो दिनमा आयोजनाको लक्ष्य, उदेश्य लगायत पृष्ठभूमि, आयोजना कार्यान्वयन चरणको अवस्थाका साथै खानेपानी आयोजना निर्माण, कार्यान्वयन र दिगो बनाउन अपनाईने विभिन्न चरणहरुबारे सहजीकरण गरिएको छ । तालिम व्यवस्थापन तथा सहजीकरणमा सहयोगका लागि वास सल्लाहकारहरु पवन कुमार ओली र वास संयोजकहरुको सहभागिता रहेको थियो भने मुख्य सहजकर्ताको रुपमा आज वास सल्लाहकार राज कुमार डिसी र राजु तिरुवा रहनुभएको थियो ।

