सल्यान, १४ असार ।
नेकपा एमाले कालिमाटी गाउँपालिकाले पनि मदन भण्डारीको जन्मजयन्तीका अवसर पारेर वृक्षारोपण सम्पन्न गरेको छ । गंगामाला भगवति मन्दिर परिसरमा वृक्षारोपण गरेर जन्मजयन्ती मनाइएको एमाले कालिमाटीका अध्यक्ष केशर बुढाले जानकारी दिए । कार्यक्रममा मदन भण्डारी फाउण्डेशन सल्यानका सचिव दान बहादुर केसीले नेपालको राजनीति, कम्युनिस्ट आन्दोलन र नागरिकहरुसँग राजनीतिक दल र नेताहरुको सम्बन्धका बारेमा मदन भण्डारीले दिनु भएका सन्देशहरु महत्त्वपूर्ण भएको बताउँदै तिनै सन्देश र मदन भण्डारीले उत्पादन गर्नु भएको जनताको बहुदलीय जनवादलाई व्यवहारमा उतार्ने गरी पार्टी लाग्नुपर्ने बताए । एमाले सल्यानका उपसचिव तथा कालिमाटी गाउँपालिकाका अध्यक्ष समेत रहेका उनले मदनको विचार प्रेरणादायिक र अहिलेपनि जिवीतै रहेको बताए ।
कार्यक्रममा मदन भण्डारी फाउण्डेशन सल्यानका सदस्य राधा सुनार, जितबहादुर यरी, एमाले कालिमाटीका सचिव बेल बहादुर चन्द, कालिमाटी २ का एमाले अध्यक्ष शशि वली लगाएतले बोल्दै रोपिएका विरुवाको संरक्षण गर्नुपर्ने बताए । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको २०५० जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा परी दुःखद निधन भएको थियो । उनको दुर्घटनामा परी निधन भएको भन्दा पनि धेरैले हत्या भएको बताउँदै आइरहेका छन् । भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरी उनी जनतामाझ लोकप्रिय हुन सफल भएका थिए । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।
