सल्यान जेठ १३ ।

गएको असोज १५ गते सल्यानको जिमालीमा भएको जिप दुर्घटनामा घाईते भएकी सुनिता बोहोराको उपचारको माग गर्दै उहाँका श्रीमान राजेश पुन मगर श्रीमती बोकेर जिल्ला प्रशासन कार्यालय पुग्नु भएको छ ।

कुमाख गाउँपालिका–७ जिमालीमा गएको असोज १५ गते भएको जिप दुर्घटनाबाट घाईते १७ बर्षिया सुनिता बोहोराको उपचारको व्यवस्था मिलाउन माग गर्दै श्रीमान् राजेश पुन मगर प्रशासनमा पुग्नु भएको हो । शुक्रवार घाइते श्रीमतीलाई लिएर उपचारको व्यवस्था मिलाउन माग गर्दै उहाँ जिल्ला प्रहरी कार्यालय हुर्दै प्रशासन कार्यालय सल्यानमा धाउनु भएको छ ।

यातायात व्यवसायी समितिले दुर्घटनाबाट घाईते सुनिताकोे उपचार खर्च नबेहोरेपछि आर्थिक अभावका कारण उपचारमा कठिनाई भएको छ । श्रीमतीको उपचारमा अहिलेसम्म २५ लाख रुपैया खर्च भैसकेको श्रीमान राजेशले बताउनुभयो । बाहिर लैजान आर्थिक अभाव भएपछि विगत केही महिनायता सुनिताको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ ।

जिल्ला अस्पतालमा उपचार सम्भव छैन, तपाईको मान्छे बाहिर लैजानुस भन्नु हुन्छ डाक्टरले तर आर्थिक अभावकै कारण जबरजस्ती यहाँ राखेको छु, पैसा नै छैन कहाँ उपचार गर्न लिुन सुनिताका श्रीमान राजेशले भन्नु भयो, उपचार गर्नको लागि पैसा खोजिरहेको छु तर कसैले पनि ऋण दिनुहुन्न, पहिले ऋण लिएका पैसा पनि माग्न थालिसके । आफु सँग भएको पैसा पनि सकिसक्यो । यातायात समितिलाई पटक पटक जानकारी गराउदा पनि उपचारमा खर्चमा नहेरेको उहाँले बताउनु भयो । १९ जना मध्य बाकिले उपचार खर्च पाएको तर सुनिताको उपचारको खर्चमा समितिले बेवास्ता गरेको उहाँले बताउनु भयो ।

यातायात समितिले वास्ता नगरेको र गाडी धनी अहिले सम्म फरार अवस्था रहेको छ । असोज १५ गते कुमाख गाउँपालिका ७ डुमकोटबाट खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने सुनिता सहित १९ जना घाईते भएका थिए । जस मध्ये सुनिता गम्भिर घाईते भएकी थिइन् ।

उनलाई हेलिकप्टरमा नेपालगञ्ज लगेपनि उपचार हुन नसकेपछि भारतको लखनउ लगिएको थियो । त्यहाँ उनको ३ महिनासम्म उपचार गर्दा लाखौँ रुपैया खर्च भयो तर सन्चो भएन् । ‘गम्भिर घाईते भएकी सुनिताको दुबै हातखुट्टा नचल्ने र बोल्न नसक्ने अवस्था छ, सबै निकायलाई गुहारे, सहयोग मागे तर पनि पनि कुनै निकाय बाट सहयोग पाउन सकिन, उपचार गर्न आर्थिक अभाव भएपछि बाध्य भएर जिल्ला प्रशासन कार्यालय ल्याएको हुँ’ राजेशले भन्नुभयो ।

पहिले प्रहरी कार्यालयमा लिए, त्यहाँ बाट प्रशासन लैजाउ भन्नु भयो प्रहरीहरुले, त्यसपछि प्रशासनमा ल्याएको हु । म एक्लै आउदा मेरो कुराको सुनुवाई हुँदैन की भनेर बिरामी श्रीमती बोकेर ल्याउन बाध्य भए । बिरामीको यो अवस्था देख्दा त पक्कै पनि न्याय मिल्छ भन्ने आशा छ राजेशले भन्नु भयो । जिल्ला अस्पताल सल्यानका डा। जितेन्द्र भण्डारीले घाइते सुनिताको जिल्ला अस्पतालमा उपचार सम्भव नभएको बताउनुभयो । ‘दुर्घटना हुदाँ टाउकोको पछाडिको भागमा गम्भिर चोट भएपछि हेलिकप्टरबाट पठाइएको थियो, नेपालगन्जबाट पनि लखनउ लगिएको रहिछ, लखनउको रिपोर्टमा हेर्दा मष्तिस्कमा समस्या भएको देखिन्छ’ उहाँले भन्नुभयो ‘अव सुनितालाई विशेषज्ञ सहितको उपचार चाहिन्छ, आफै खाने, हिडडुल गर्ने र बोल्न सक्ने बनाउनको लागि सर्जन र फिजियोथेरापि आवश्यक छ ।’ प्रहरीका अनुसार दुर्घटनामा परेको गाडी प्रहरी कार्यालयमा छ ।

गाडी चालक पक्राउ परिसकेका छन् । तर गाडी धनि फरार हुदाँ समस्या भएको छ । प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले उपचारको अभावमा छट्पट्टाइ रहेकी घाइते सुनितालाई उपचारको लागि वीर अस्पताल काठमाण्डौँमा लैजानको लागि सहजीकरण गर्ने बताउनुभएको छ । ‘घाइतेलाई तत्काल उपचारको लागि काठमाण्डौँ लैजाने व्यवस्था मिलाउँछु, आर्थिक जोहोका लागि सबैसँग समन्वय गर्छु’ उहाँले भन्नुभयो ‘दुर्घटनाका घाइतेको उपचार गर्नबाट पन्छिरहेका यातायात समिती, विमा समिती लगाएतका सँग बसेर यसलाई टुंगोमा पु¥याउँछु ।’