फागुन ३, सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिकामा बिहे गर्दा अबदेखि वडाको सिफारिस अनिवार्य हुनुपर्ने नियम सुरु भएको छ । हालै सम्पन्न गाउँपालिकाको १२ औं गाउँसभाले विवाह गर्नु अगाडि अनिवार्य वडा कार्यालयको सिफारिस लिनुपर्ने व्यवस्था गरेको हो ।
गाउँपालिकाभित्र बालविवाह बढ्दै गएको र त्यसलाई न्यूनीकरण गर्न पालिकाका सबै वडाहरुमा विवाह अगाडि अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । यो व्यवस्था अबको केही दिनमा नै कार्यान्वयनमा आउने बताइएको छ ।
आगामी तीन वर्षभित्रमा बालविवाह, बहुविवाह, बालश्रममुक्त र पूर्ण सरसफाइ उन्मुख पालिका घोषणा गर्ने लक्ष्य रहेको कपुरकोट गाउँपालिकाले जनाएको छ ।
पछिल्लो समय गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए ।
जुनसुकै उमेर समूहका पालिकावासीले विवाह गर्दा अनिवार्य वडा कार्यालयमा जन्म दर्ता पेश गर्नुपर्ने र स्वीकृति लिनुपर्ने उनको भनाई छ ।
