कात्तिक १९, सल्यान ।

जिल्ला निर्वाचन कार्यालय सल्यानले मतदाता शिक्षा कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा नमुना मतदान गरेको छ । बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको कार्यालयले जनाएको छ । नमुना मतदान अन्तर्गत बागचौर नगरपालिका, शारदा नगरपालिका, दार्मा गाउँपालिका र सिद्ध कुमाख गाउँपालिका गरिएको छ । दार्मामा भएको नमुना मतदानमा प्रतिनिधि सभा समानुपातिक तर्फ ६ दशमलव ४ प्रतिशत मत बदर भएको छ । दार्माका ३२ स्थायी मतदाता र ६ अस्थायी मतदाताले मतदान गर्दा ६ दशमलव ४ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सल्यानका प्रमुख निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनु भयो । यस्तै बागचौर नगरपालिकामा १ बदर भएको छ भने सबैभन्दा धेरै शारदा नगरपालिकामा २३ मत बदर भएको छ । ६७ मतदाताले नमुना मतदान गरेकोमा ४४ मत मात्र सदर भएको छ भने बाँकी २३ म बदर भएको कार्यालयले जनाएको छ ।
यसपटक प्रत्येक मतदाताले ४ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । पहिलो मतपत्रमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारलाई मतदान गरिसके पछि प्रतिनिधिसभाकै समानुपातिक तर्फका उम्मेदवारका लागि, त्यसपछि तेस्रो मतपत्रमा प्रदेशसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारलाई र चौथो मतपत्रमा प्रदेशसभाको समानुपातिकतर्फको उम्मेदवारलाई मतदान गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भट्टराईका अनुसार सल्यानका १० वटै पालिकामा नमुना मतदान कार्यक्रम गरिने छ । नमुना मतदानको अभ्यास गरेपछि आगामी मङ्सिर १ गतेसम्म प्रत्येक पालिकाको वडामा चयन गरिएका महिला स्वास्थ्य स्वयंसेविकाले १५ दिन स्थानीयको घरदैलोमा गएर मतदाता शिक्षा सञ्चालन गर्ने उहाँको भनाई छ । स्थानीय तहको निर्वाचनमा मत बदर हुने भएपछि उक्त बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन अनुगमन समितिका सदस्य एवं प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनु भयो ।