सल्यान  २८ आश्विन ।

सल्यानमा बाढीपहिरोका कारण तीन जनाको मृत्यु भएको छ । असोजमा परेको पानीका कारण सल्यानका १० स्थानीय तहमा ६४ घर पूर्णरुपमा क्षति भएका छन् । ९१ घर पहिरोको जोखिममा परेका छन् । पहिरो र वर्षाले घर भत्किँदा ८४ घरपरिवार विस्थापित भएका छन् । पहिरोले च्यापिएर शारदा नगरपालिका ८ मार्केका वर्ष १३ का अजय विक, पहिरोसँगै खसेको ढुंगाले लागेर त्रिवेणी गाउँपालिका २ गैरागिठीका ४४ वर्षीय चन्द्रबहादुर पुन र खोलाले बगाएर कालिमाटी गाउँपालिका ५ लामितराका ६५ वर्षीय नरबहादुर दर्लामीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शारदा नगरपालिकामा ६, बागचौर नगरपालिकामा ११, बनगाड कुपिण्डे नगरपालिकामा २३, कपुरकोट गाउँपालिकामा १३, त्रिवेणीमा ४, दार्मामा १, सिद्धकुमाखमा २, कुमाखमा ४, कालिमाटीमा ११, छत्रेश्वरी गाउँपालिकामा ९ परिवार विस्थापित भएका छन् । त्यस्तै शारदा नगरपालिकामा १, बागचौर नगरपालिकामा ४, बनगाड कुपिण्डे नगरपालिकामा २६, छत्रेश्वरीमा ४, कालिमाटीमा ८, कुमाखमा ९कपुरकोटमा ५, त्रिवेणीमा ३, दार्मामा १, सिंद्धकुमाख गाउँपालिकामा २ घर पूर्ण रुपमा क्षति भएका छन् । शारदा नगरपालिकामा १२, बागचौर नगरपालिकामा ८, बनगाड कुपिण्डे नगरपालिकामा ४, छत्रेश्वरीमा २, कालिमाटीमा ५, कुमाखमा १, कपुरकोटमा २, त्रिवेणी गाउँपालिकामा २ घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । विस्थापित विभिन्न विद्यालयको भवनमा र आफन्तकको आश्रयमा रहेको प्रहरी खनालले बताए । बाढीपहिरोले उच्च जोखिममा परेका सबै परिवारलाई अहिले सुरक्षित स्थानमा राखिएको र उनीहरूलाई पालिकामार्फत खाने र बस्ने व्यवस्था मिलाइएको विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए । कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले कपुरकोट गाउँपालिका ५ सल्लाममा बस्ती नजिकैबाट पहिरो जाँदा विस्थापित भएका १३ घरमध्ये ८ घरका परिवारलाई स्थानीय विद्यालयमा राखिएको र पाँच परिवार आफन्तको घरमा बसेको बताए ।