कास्की, जेठ १७ गते ।

तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको बाँकी शव काठमाडौं ल्याउने तयारी सूरु गरिएको छ । सानो हेलिकप्टरबाट १० वटा शव जोमसोमको कोवाङमा झारिएको छ भने बाँकी दुई वटा शव कोवाङ ल्याउने क्रममा रहेको उद्धार टोली प्रमुख सेनाका जर्नेल बाबुराम श्रेष्ठले जानकारी दिनुभयो ।

विमानमा दुई जर्मनी, चार भारतीय र १३ नेपाली नागरिक सहित तीन चालकदलका सदस्य गरी २२ जना सवार सबैजनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये १० जनाको शव सोमबारनै काठमाडौं ल्याएर पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । आज सबै शव काठमाडौं ल्याएर पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने तयारी थालेको तारा एयरका प्रवक्ता सुर्दशन वर्तौलाले जानकारी दिनुभयो ।

अप्ठ्यारो भीरमा विमान ठोक्कीएका कारण शव संकलन गरी सहज स्थानमा ल्याउन उद्धार टोलीलाई निकै कठिन भएको उद्धारमा खटिनु भएका माउन्टेन गाइड नरेन शाहीले बताउनुभयो । माउन्टेन गाइडको टोलीले शवलाई गेटपुलीको सहयोगबाट माथि तानेर व्यवस्थापन गरेको थियो ।

१२ वटा शव काठमाडौं ल्याउन उडेको सेनाको हेलिकप्टर खराव मौसमका कारण खैरेनी अवतरण गरेको जनाएको छ ।