हुम्ला फागुन ६ गते । मतदाता परिचयपत्र हराएका र नष्ट भएका व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयले पुनः मतदाता परिचयपत्र दिने भएको छ । आगामी वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय निर्वाचनमा कुनै पनि मतदाता मतदान कार्यबाट वन्चित नहुन भन्नका लागि कार्यालयले यो व्यवस्था गर्न लागेको हो ।
जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले यसअघि कार्यालयबाट मतदाता परिचय पत्र दिएका तर हाल सो परिचयपत्र हराएको वा नष्ट भएका व्यक्तिले अर्को मतदाता परिचयपत्र दिन सकिने बताउनुभयो ।
उहाँले त्यस्ता मतदाताले आगामी फागुन २० गतेभित्र सम्बन्धित वडाको सिफारिस लिएर कार्यालयमा पेश गर्नुपर्ने बताउनुभयो ।
उहाँले कारणवश पहिले लिएका तर हाल सम्बन्धित व्यक्तिसँग मतदाता परिचयपत्र नभएको अवस्थामा पुनः अर्को परिचयपत्र व्यवस्था गर्न सकिने अवस्था रहेको बताउनुभयो। निर्वाचन आयोगले नै परिपत्र गरेर यस्तो निर्देशन दिएको हो ।
उहाँले यसअघि मतदाता परिचयपत्र लिएका तर हालसँगै नभएका व्यक्तिले समेत मतदान कार्यमा सहभागिता गराउनका लागि यो कार्य गर्न लागिएको बताउनुभयो। यसका लागि सबै गाउँपालिकामा पत्राचार समेत गरिएको कार्यालयले जनाएको छ ।
