मंसिर २५ सल्यान ।
सल्यानमा जन्ती बिहेमा नाच हेर्न गएका एक किशोरको मृत्यु भएपछि अनुसन्धानका लागि प्रहरीले ३ जनालाइ पक्राउ गरेको छ ।
जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिन्वाङ रातामाटा निवासी १६ बर्षिय टेक बहादुर बोहरा मृत अवस्थामा फेला परेपछि प्रहरीले हत्याको आशंकामा ३ जनालाइ पक्राउ गरेको हो । पक्राउ परेका नाबालक भएकोले नाम खुलाइएको छैन् ।
बुधबार बेलुका रातामाटाबाट बिहेको नाच हेर्न ७ जना युवाहरु कपुरकोट गाउँपालिका कै वडा नम्बर ५ रिम ओखरपाटामा गएका थिए । ती ७ जना युवाहरु र ओखरपाटाका स्थानीयहरुले सँगै नाचगान गरेका थिए ।
मृतक तथा मृतक पक्षका केहि युवा र पक्राउ परेका युवाहरुले पहिला सँगै बसेर रक्सी खाएका थिए । त्यसपछि नाच गर्ने क्रममा मृतक बोहरा र पक्राउ परेका युवाहरु बीच केहि विवाद समेत भएको थियो । विवादपछि पक्राउ परेका तिन जना युवाहरुले बोहरालाइ सम्झाउँदै आँगनबाट छेउतिर लगेका थिए ।
त्यसपछि बोहरा एक्लै घरतर्फ हिडेका थिए । उनको पछिपछि ती तिनजना युवाहरु पनि गएका थिए । बिहे घरदेखि अलि पर रहेको गोरेटो बाटोको भीरबाट ५० मिटर तल मृत अवस्थामा बोहरा भेटिएका थिए ।
सँगै गएका साथीहरुले बोहरा राती अगाडी नै बिहेबाट निस्केको तर भोलिपल्ट बिहानसम्म घर नआएपछि बिहान खोजीकार्य गरेका थिए । बोहराको शव भोलिपल्ट बिहान मात्रै उक्त भीरबाट खसेको अवस्थामा फेला परेको थियो ।
मृतकको नाकबाट रगत बगेको र खुट्टामा सामान्य खालको चोट मात्रै भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी श्याम प्रकाश यादवले जानकारी दिए । उनकाअनुसार पहिलेनै हत्या गरेर भीरबाट खसालिएको हो वा भीरबाट खसेर नै मृत्यु भएको हो भन्नेबारे पोष्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुनेछ ।
