जेठ २६, सल्यान ।
सल्यानमा चौथो पटक निषेधाज्ञा थपिएको छ । जिल्लामा बैशाख १९ गतेदेखि सुरु गरिएको निषेधाज्ञा तीनपटक सुचना जारी गरेर पछिल्लोपट जेठ २६ गतेसम्म गरिएको थियो । यो पटकलाइ असार २ गतेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
मंगलबार जिल्ला कोभिड १९ ब्यबस्थापन केन्द्र सल्यानको सिफारिस अनुसार सल्यानका प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा थप गरिएको हो । यो पटकको निषेधाज्ञामा अन्यको हक पहिले नै नियम यथावत गरिएपनि बैंक संचालनको हकमा हप्तामा एक दिन थपिएको छ । यसअघि आइतबार र बुधवार संचालिनको अनुमति पाएका बैंकहरुले अब थप एक दिन शुक्रबारको लागि पनि संचालन गर्न पाउने भएका छन् । आइतबार, बुधवार र शुक्रबार बिहान १० देखि देखि दिउँसो २ बजेसम्म बैंक सञ्चालन गर्ने पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै तरकारी, फलफुल,माछा मासु,दाना, एग्रोभेट, दूध डेरी खाना पकाउने ग्यास पसलहरु दैनिक बिहान ६ बजेदेखि बिहान ९ बजेसम्ममात्र सञ्चालन गर्न पाइने र यसबाहेकका खाद्यन्न लगायतका अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाका हकमा भने आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय जिल्ला कोभिड १९ ब्यबस्थापन केन्द्रको बैठकले गरेको छ ।
यसैगरी सार्वजनिक एवमं निजी सवारी सवारी साधन सञ्चालनका लागि जिल्लाभर रोक लगाउने निर्णय भएको छ । तर अन्तर्राष्ट्रिय उडानबाट बिदेश जाने यात्रुको हकमा भने हवाइ टिकट, पासपोर्ट र भिसाको आधारमा सवारी साधनको सहजिकरण गरेर जान दिने प्रशासनले जनाएको छ । अन्य अत्यावश्यक सवारीको लागि भने व्यानर टाँसेर चलाउन पाइनेभएको छ ।



