जेठ २१,सल्यान
सल्यानमा पछिल्लो समय कोरोना संक्रमण र मृत्युदर घट्दै जान थालेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार शुक्रबार (आज) जिल्लामा ५ जना नयाँ संक्रमित थपिदा ७३ जनाले भने कोरोना जितेर डिस्चार्ज भएका छन् ।
एन्टीजेन विधिबाट ३२ जनामा गरिएको परीक्षणमा ५ जनामा मात्र कोरोना संक्रमण देखिएको कार्यालयका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । उनका अनुसार शारदा नगरपालिका र सल्यान अस्पतालमा १६ जनाको परीक्षण गर्दा १ महिला, छत्रेश्वरीमा ६ को परीक्षण गर्दा १ महिला र १ पुरुष, बागचौर नगरपालिकामा ८ जनाको परीक्षण गर्दा १ महिला र १ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यस्तै होम आइसोलेसन, संस्थागत आइसोलेसन र सल्यान अस्पतालबाट ७३ जना डिस्चार्ज भएको फोकल पर्सन पुनले बताए ।
कार्यालयका अनुसार वैशाख देखि हालसम्म १ हजार ३ सय ४ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ७५ संक्रमित फेला परेका छन् भने ३ हजार ३ सय २१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १ सय ७१ मा पोजेटिभ देखिएको छ । जसमा वैशाखदेखि हालसम्म १ हजार २२ जना निको भएका छन् ।
सल्यानमा हाल संक्रिय संक्रमित संख्या ७ सय ७८ रहेको छ । जसमा सल्यान अस्पतालमा १३, संस्थागत आइसोलेसनमा २१ र होमआइसोलेसनमा ७ सय ४४ रहेका छन् ।
जिल्लामा कोरोनाबाट गत २४ घण्टामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका वडा न ४ का ७३ वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा सल्यान जिल्ला अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए । कोरोनाबाट हालसम्म जिल्लामा ४७ जनाको मृत्यु भएको छ ।
