जेठ १९,सल्यान ।
सल्यानमा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार बुधबार ७७ जना थपिदा ८५ जना निको भएर डिस्चार्ज भएका छन् । जिल्लामा पछिल्लो केही दिन यता संक्रमित हुनेभन्दा निको हुनेको दर बढेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए ।

अधिकांश होम आइसोलेसनमा बसेर निको भएका छन् । दोस्रो चरणको भेरियन्ट सहितको कोरोना फैलिए यता ९ सय ३६ जनाले कोरोना जितेको उनको भनाई छ । वैशाख देखि हालसम्म ९ सय ३६ जना निको भएको उनले बताए ।

कार्यालयका अनुसार शारदा नगरपालिका र सल्यान अस्पतालमा ४ सय ६० संक्रमित रहेका छन् भने सबैभन्दा कम सिद्ध कुमाख गाउँपालिकामा ६२ संक्रमित रहेका छन् । जिल्लामा बुधबारसम्म ८ सय ४६ सक्रिय संक्रमित रहेका छन् ।

सल्यान जिल्ला अस्पतालमा ९ जना, संस्थागत आइसोलेसनमा ३५ र होम आइसोलेसनमा ८ सय १० जना रहेका छन् । कार्यालयका अनुसार हालसम्म कोरोनाबाट जिल्लामा ४६ जनाको मृत्यु भएको छ ।