जेठ १८,सल्यान

नेपाली सेनाले सल्यान जिल्ला अस्पताल हाता भित्र २५ बेडको आइसोलेसन भवन निमार्ण गरेको छ । कोरोना सङ्क्रमितलाई राख्न सल्यान अस्पतालमा बेडको अभाव भएपछि अस्पताल परिसरमा नयाँ भवन निमार्ण गरी २५ बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आइसोलेसन भवन निमार्ण गरेको सबुज गण सिमखर्कका गणपति कञ्चन कृष्ण बस्नेतले बताए । जिल्लामा कोरोना संक्रमण फैलिँदै गएको र अस्पतालमा सीमित बेड हुँदा नगरपालिकाको समन्वयमा नयाँ भवन सहित २५ बेडको आइसोलेसन सेन्टर निमार्ण गरिएको उनको भनाई छ ।

प्राकृतिक प्रतिकुलता, निषेधाज्ञाका कारण सामान ढुवानीमा समस्या र कोरोना महामारीकै बिचमा १५ दिनको बिचमा आइसोलेसन, ३ शौचालय, एक बाथरुम निमार्ण गरिएको बस्नेतले बताए । सह सेनानी दीपक बुढाथोकीको कमान्डमा स्वास्थ्य मापदण्ड पालना गरी भवन निमार्ण गरिएको उनको भनाई छ । उनले भने ‘बेडको अभावकै कारण कोही नागरिकले अकालमै ज्यान गुमाउनु नपरोस् भनेर अस्पताल हाता भित्रै थप आइसोलेसन निमार्ण गरिएको छ ।’

यसअघि १६ शैय्याको आइसोलेसन रहेको अस्पतालमा थप २५ बेडको आइसोलेसन निमार्ण भएसँगै सङ्क्रमितलाई उपचारमा सहज हुने स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताए । बेडको अभावमा सङ्क्रमितलाई आकस्मिक कक्षमा समेत राखेर उपचार गर्नु पर्ने बाध्यता थियो अब उक्त बाध्यता हट्ने उनले बताए ।

विश्वभर फैलिएको कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर राखी नेपाली सेनाको समन्वयमा आइसोलेसन भवन निमार्ण गरिएको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले बताए । भाइरसको रोकथाम तथा सम्भावित महामारी विरुद्ध प्रभावकारी व्यवस्थापनको लागि नगरपालिकाका श्रमदान बाहेक १५ लाख लागतमा भवन निमार्ण गरिएको उनको भनाई छ ।

आइसोलेसन भवन निर्माण शारदा नगरपालिकाको १५ लाख र नेपाली सेनाको जनश्रम १० लाख गरी २५ लाख बराबरको लागतमा निर्माण भएको हो ।