बैशाख १७, सल्यान ।

चट्याङले लागेर रोल्पामा एक बालकको ज्यान गएको छ भने सल्यानमा दुइ बालक घाइते भएका छन् । रोल्पाको सुनछहरी गाउँपालिका ५ जेल्बाङका आशबहादुर पुनका ९ बर्षे छोरा अभिषेक पुनको बिहीबार बेलुका परेको चट्याङ ज्यान गएको हो ।

चट्याङ लागेका बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाँदै गर्दा बाटो मै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएकोछ । प्रहरीका अनुसार पोषण भत्ताका लागि बैङ्क खाता खोल्न गाउँपालिकाको केन्द्र पोवाङ गएर फर्कदै गर्दा पुनलाई चट्याङ लागेको थियो।

यता सल्यानको कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर कोट स्थित जङ्ग बहादुर थापामा घरमा गएराती राती परेको चट्याङले दुई बालक घाइते भएका छन् । घाइते हुनेमा थापामा दुई वर्षीय छोरा सन्दिप थापा र फुपुको घरमा आएका १४ वर्षीय शन्तोष डाँगी रहेको त्यहाँबाट स्थानीय दीपक भण्डारीले जानकारी दिएका छन् । आमा बुवा कामले घर बाहिर भएको समयमा चट्याङ परेको उनले बताए ।

घाइते दुवै बालकको श्रीनगर स्थित शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको डिस्चार्जको लागि तयारी भएको अस्पतालले जनाएको छ । चट्याङले घरमा भौतिक समेत क्षति पुर्याएको छ ।