चैत १७,सल्यान ।

सल्यानमा अदुवा र बेसार खेतीले राम्रो ठाउँ लिन थालेको छ। नगदेबाली अदुवा र बेसारको माग बढ्दै जान थालेपछि खाद्यन्नबाली त्यागेर किसानहरू यसतर्फ आकर्षित देखिन्छन् । उसो त नेपालमै सबैभन्दा बढी अदुवा उत्पादन हुने जिल्लामा सल्यान पर्दछ । त्यस्तै, नेपालमै पहिलो पटक सिफरिस भएको एक मात्र उन्नत जातको ‘कपुरकोट हलेदो’ १ र ‘कपुरकोट हलेदो २’ जातको हलेदो र लोकल बेसार ९हलेदो० को माग धेरै हुने गरेको अदुवा बेसार अनुसन्धान केन्द्र कपुरकोटका सूचना अधिकारी खेमराज शर्माले जानकारी दिए ।

४ करोडको बुर्नी अदुवा निकासी

सल्यानबाट चालु आर्थिक वर्ष २०७७र०७८ मा ४ करोडको बुर्नी अदुवा निकासी भएको तथ्याङले देखाएको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ८ सय २५ मेटिक्टन बुर्नी अदुवा उत्पादन भएको छ ।

उत्पादित अदुवा मध्ये ५ मेटिक्टन अदुवा जिल्ला भित्र नै खपत हुने गरेको छ भने वाँकी ८ सय २० मेटिक्टन बुर्नी जिल्ला बाहिर निकासी भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए ।

झण्डै तीन करोडको बेसार निर्यात

यसैबीच सल्यानबाट चालु आर्थिक वर्ष ०७७र०७८ मा २ करोड ७० को रुपैयाँ बराबरको बेसार निर्यात भएको छ । जिल्लामा उत्पादित बेसारमध्ये १ करोड ९ लाख ४६ हजार २ सय ५० बीउको रुपमा र १ करोड ६० हजार ५४ हजार ५ सय रुपैयाँको बेसार निर्यात भएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए ।

बेसारबाट राम्रो आम्दानी हुन थालेपछि सल्यानको कालिमाटी गाउँपालिका काल्चे घुरचौरका ६० परिवारले खाद्यान्नबाली लगाउन छोडेर व्यावसायिक बेसार खेती सुरु गरेका छन् । यहाँका स्थानीयले वार्षिक दुई सय ५० रोपनी बढी क्षेत्रफलमा उन्नत जातको बेसार खेती गर्दै आइरहेका छन् । स्थानीय बजारमै एक सय ५० देखि दुई सय रुपैयाँ प्रति किलोमा बेसार बिक्री हुने गरेको बताइएको छ ।