चैत ११, सल्यान ।
सल्यानको बागचौर नगरपालिकामा भ्यू-टावरको शिलान्यास गरिएको छ । नगरको वडा नम्बर २ लस्तममा आइतबार बागचौरका नगरप्रमुख लोकमान बुढाथोकीले भ्यू- टावरको शिलान्यास गरेका हुन् ।
तत्कालका लागि भ्यूटावर ठड्याउन करिब ७५ लाख रुपैयाँ नगरपालिकाले विनियोजन गरेको छ । यो भ्यू-टावर निर्माणका लागि करिब ६ करोड भन्दा धेरै बजेट खर्च हुने डिपीआर गरिएको छ ।
डिपीआर अनुसारको भ्यू टावर बनाउन नगरपालिकाको बजेटले नभ्याउने र त्यसको लागि संघ तथा प्रदेश सरकार सँग बजेटको लागि माग गरिने नगरप्रमुख लोकमान बुढाथोकी बताउँछन् ।
भ्यू टावर डिपीआरको भिडियो २०७५ फागुन १६ गते सार्वजनिक समेत गरिएको थियो । भिडियोमा भिनिन्न सुन्दर बोट बिरुवाहरु, भवन, सौचालय, पदमार्गको सिडी, हेलिकप्टर अवतरन गर्ने मैदान, राष्ट्रिय भण्डा फरफराइरहेको भ्यु टावर देखाइएको छ । यो भ्यू टावरले डाँगी जातीहरुको उद्गम थलो लस्तम प्रितीकोटलाइ समेत झल्काउने नगरपालिकाको दाबी छ ।
भिडियो सार्वजनिक भएपछि बागचौर नगरप्रमुख लोकमान बुढाथोकीले भ्यु टावर तथा पार्क निर्माणको लागी ६ करोडभन्दा धेरै रकम खर्च हुने बताएका थिए । उनले ३ बर्ष भित्र यो काम सम्पन्न भइसक्ने समेत बताएका थिए ।
