सल्यान १८ माघ
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको साधारण सभा सम्पन्न भएको छ । शनिबार श्रीनगरमा महासंघको साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले समाजमा लेकेर रहेका विषयलाई खोजमुलक पत्रकारिताको माध्यमबाट उजागर गर्न आग्रह गरे । पछिल्लो समय राजनीतिक विषयलाई मात्र प्राथमिकता दिदा गरिब निमुखा र पछि परेका पारिएका वर्ग समुदायका मुद्दा ओझेलमा परेको भन्दै त्यसतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरे ।
यस्तै प्रदेश सभा सदस्य गुलाबजङ शाहले नेपालको लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न नेपाली सञ्चारजगतले महत्वपूर्ण भूमिका खेलेको बताए । गणतन्त्र संघीयता कायम गर्न नेपाली प्रेस जगतले खोलेको भूमिका चर्चा गर्दै व्यवसायिक पत्रकारितालाई जोड दिनु पर्ने बताए ।
देश निर्वाचनमा गई सकेकाले अव आम जनतालाई निर्वाचनमा सक्रिय सहभागिता जनाउने खालका सूचना सम्पे्रषण गर्न पनि उनले आग्रह गरे ।
शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले पत्रकारहरु कुनैपनि कुरामा पक्ष विपक्ष नभइ एक भएर अघि बढ्दा सबैलाई फाइदा हुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज शाही, पूर्ण प्रसाद चौलागाई, कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, महासचिव दीपेन्द्र शर्मा, शारदा नगरपालिकाका उपमेयर सावित्रा बस्नेत, सल्यान शाखाका सल्लाहकार रमेश गौतम र सनत शर्मा, प्रेस युनियनका केन्द्रीय सदस्य युवराज रेग्मी लगायतले मन्तव्य राखेका थिए ।
तीन पत्रकार सम्मानित

नेपाल पत्रकार महासंघ सल्यानले जिल्लामा क्रियाशिल तीनजना पत्रकारलाई छुट्टाछुट्टै पुरस्कारबाट सम्मानित गरेको छ । पुरस्कृत हुनेमा नयाँपत्रिका जिल्ला संवाददाता मिना बुढाथोकी, कान्तिपुर जिल्ला संवाददाता विप्लव महर्जन र रेडियो नेपालका जिल्ला संवाददाता दीपक शर्मा रहेका छन् ।
महासंघ जिल्ला शाखाले अजिता स्मृति पत्रकारिता पुरस्कार रेडियो नेपालका जिल्ला संवाददाता दीपक शर्मालाई प्रदान गरेको छ । शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले दिवंगत छोरी अजिता को स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन । ।
यस्तै नयाँ पत्रिकाकर्मी मिनाबुढाथोकीलाई हरिशरण आचार्य संस्थापक पत्रकारिता पुरस्कार प्रदान गरेको हो । आचार्य जिल्ला शाखाका संस्थापक अध्यक्ष हुन । दुवै पुरस्कारको राशि प्रमाणपत्र र पाँच हजार रुपैयाँ रहेको छ । दुवै पुरस्कारको लागि ५०।५० हजारको अक्षयकोष स्थापना गरिएको थियो ।
यस्तै सालिकराम शर्मा स्मृती पत्रकारिता पुरस्कार कान्तिपुर जिल्ला संवाददाता विप्लव महर्जनलाई प्रदान गरिएको छ । ग्रामीण विकास सञ्चार केन्द्रले पत्रकार महासंघ सल्यानका पूर्व अध्यक्ष सालिकराम शर्माको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेको थियो । पुरस्कारको लागि १५ हजारको अक्षयकोष स्थापना गरिएको थियो । तीनैजनालाई साधारण सभाको अवसरमा कर्णाली प्रदेश सरकारका अर्थमन्त्री प्रकाश ज्वालाले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन ।
यस्तै पत्रकार महासंघ सल्यानले आर्थिक तथा प्राविधिक सहयोग गर्ने शारदा नगरपालिका र दार्म गाउँपालिकालाई प्रमाणपत्र प्रदान गरेको छ ।
