प्रकाश शर्मा
मंसिर २०,सल्यान
दार्मा गाउँपालिकाले २७ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ ।१७ औं राष्ट्रिय २७ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा गाउँपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निम बहादुर केसी अरुणले महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको स्वास्थ्य क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरे । उनले स्वास्थ्य क्षेत्र महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको काँधमा अडिएकाले सभ्य समाज निमार्णमा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको भूमिका अझँ महत्वपूर्ण रहने बताए । निस्वार्थ भावनाले अहोरात्र खट्ने स्वयंसेविकाहरुको सम्मान गर्नु गाउँपालिकाको दायित्व रहेको बताए ।
नेपालमा हरेक वर्षको डिसेम्बर पाँच तारिखको दिन यो दिवस मनाउने गरिएको छ। १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको नारा ‘कोभिड १९ को रोकथाम र समृद्धिको लागि संयुक्त कार्य, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भुमिका अपरिहार्य’ तय गरिएको थियो ।
जिल्लाका अन्य स्थानीय तहरुले पनि विभिन्न कार्यक्रम गरी सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस मनाएका छन् ।
