सल्यान ०२ बैशाख ।  कर्णाली प्रदेश नेपालको एक विविधतायुक्त प्रदेश हो । यस प्रदेशमा सुर्खेत, दैलेख, जाजरकोट, रूकुम (पश्चिम भाग), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला र कालीकोट गरी १० जिल्लाहरु पर्दछन् । उक्त पदेश पर्यटकीय हिसावले एक सम्भावना बोकेको प्रदेश हो ।
नेपाली भाषाको उद्गम थलो सिँजा, रमणीय ताल रारा, फोकसुण्डो ताल, विश्वको सबैभन्दा उच्च उच्चस्थानमा फल्ने मार्सी धान, सबैभन्दा उच्च स्थानमा रहेको मानव वस्ती यही प्रदेशमा पर्छन् ।
कर्णाली प्रदेश प्राकृतिक तथा सांस्कृतिक रुपले निकै धनी प्रदेश हो । धनी भएर पनि यो क्षेत्रबाट राज्य तथा स्थानीयले फाइदा लिन सकेका छैनन् । यो प्रदेशमा देशकै तथा विश्वकै नमूना स्थानहरु छन् । भाषा, साहित्य, संस्कृतिक एवं प्राकृतिक हिसाबले पर्यटकीय सौदर्यको खानी भएर पनि यसको उचित व्यवस्थापन तथा सदुपयोग हुन नसक्दा यसको लाभ प्रदेश सरकार तथा प्रदेशबासीले लिन पाएका छैनन । हामीले कर्णाली पदेशको केहि महत्वपुर्ण पर्यटकीय गन्तव्यहरुको बारेमा चर्चा गरेका छौं ।
कर्णाली पदेशको केहि महत्वपुर्ण पर्यटकीय गन्तव्यहरुः
रारा ताल (मुगु)
आन्तरिक तथा वाह्य पर्यटकको पहिलो रोजाई हो रारा ताल । नेपालको सबैभन्दा ठूलो रारा ताल समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा अवस्थित छ । यसको क्षेत्रफल १०.८ वर्ग किलोमिटर र गहिराइ १ सय ६७ मिटर छ । तालको वरिपरि हरियाली र हिमालको दृश्यले यो स्थललाई पर्यटकहरूको आकर्षण बनाएको छ । ’स्वर्गकि रानी’ को उपमाले चिनिने रारा ताल मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत शोभा थपेका छन् ।

दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठ देखि आश्विन महिना सम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ । रारातालको अर्को एक थप विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) माछा पाइन्छ । रारातालबाट करीब ३ घण्टाको पैदल यात्रा पश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । जहाँबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिनाको साथै अन्यत्र कहीं नपाइने ’असला’ जातको माछा पाइन्छ । ग्रीष्म ऋतुमा रारा ताल निकै सुन्दर छ तर जाडो हुन्छ । सबैभन्दा उत्तम भ्रमण गर्ने समय सेप्टेम्बर / अक्टोबर र अप्रिलदेखि मे सम्म हुन्छ । डिसेम्बरदेखि मार्च सम्म तापमान पनि जम्ने प्वाइन्ट भन्दा तल झर्छ । हिउँदमा भने १ मिटर सम्मको हिउँ पर्ने गरेको छ । राराताल मुगुको मात्रै नभएर देशकै गहना हो । यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको छ ।

यसका साथै मुगु जिल्लामा बिश्वका चारधाम मध्यको जेठो धाम छायाँनाथ धाम, एक रुपैयाँको नोटमा अवस्थित चंखेली हिमाल, कान्जिरोवा हिमाल, चावाचुली हिमाल, कर्णाली प्रदेशको कुल देवताको जेठो भाई थार्प मष्टा, खेस्ममालिका, क्रणमोक्ष, कालीकामालिका मन्दिर, पर्यटकीय स्थल अर्पर मुगु, सोरु तातापानी लगायत धेरै धार्मिक तथा पर्यटकीयस्थल छन् ।

शे फोक्सुण्डो ताल डोल्पा


नेपालको सबैभन्दा गहिरो ताल, शे फोक्सुण्डो ताल समुद्र सतहदेखि ३ हजार ९ सय मिटरको उचाइमा रहेको छ । यो ताल शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र पर्दछ र यसको वरिपरि गुम्बा र बस्तीहरू रहेका छन् ।
कान्जिरोवा हिमालको काखमा अवस्थित फोक्सुण्डो ताल लाई शे–फोकसुण्डो तालको नामले पनि चिनिन्छ । यो ताल डोल्पा जिल्ला स्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित हिमाली सफापानीको ताल हो । यो ताल नेपालको सबभन्दा गहिरो र ठुलो ताल हो जसको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी. र गहिराई ६५० मीटर रहेको छ ।
यो ताललाई स्थानीय तहमा रिग्म तालको नामले पनि चिनिन्छ । फोकसुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रहेको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रति सेकेन्ड रहेको छ । यस तालको अधिकतम गहिराइ १४५ मिटर (४७६ फिट) रहेको पाइएको थियो । यस तालको दक्षिणी छेउमा स्थित रिंग्मो गाउँमा ३०,००० देखि ४०,००० वर्ष पहिला भएको पहिरोको कारण यस तालको उत्पति भएको देखिन्छ । यस तालको वरिपरीको क्षेत्रमा २० वटा बौद्ध स्तुप रहेको छ भने पूर्व दिशामा एउटा गोम्पा रहेको छ जसमा बौद्ध धर्मावालाम्बीहरू बार्षिक रूपमा यहाँ आएर पुजा पाठ गर्ने गर्छन । डोल्पा जिल्ला एक पर्यटकीय जिल्ला हो । यस जिल्लाबाट विभिन्न हिमालहरुको अवलोकन गर्न सकिन्छ । यस जिल्लाको प्रमुख पर्यटकीय स्थलको रुपमा से फोक्सुण्डो ताल हो । यसका अलवा यस जिल्लामा धार्मिक तथा पर्यटकीय झल्कने थुपै ठाउँहरु रहेका छन् ।
राष्ट्रिय सडक सञ्जालले जोडिदै गरेको डोल्पा जिल्ला बाह्रै महिना घुम्नका लागि उपयुक्त स्थान हो । तर डोल्पाबाट शे–फोक्सुन्डो र त्रिपुरासुन्दरी पर्यटन क्षेत्र मात्रै पर्यटकीय गन्तव्यका रुपमा छनोटमा परेका छन् । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने शे–फोक्सुन्डो ताल राराबाट सीधै त्यहाँ पुग्नका लागि छनोट गरिएको क्षेत्र हो । जुन क्षेत्र कर्णालीकै दोस्रो महत्त्वपूर्ण पर्यटकीय स्थलसमेत मानिन्छ । तर त्यहाँ पुग्न खर्चका हिसाबले निकै महँगो पर्न जान्छ । सुर्खेत र नेपालगन्जबाट हवाई यात्रा गरेर मात्रै शे–फोक्सुन्डो पुग्न सकिन्छ । समुद्री सतहबाट ११ हजार ८ सय फिट उचाइमा रहेको शे–फोक्सुन्डो नेपालको सबैभन्दा गहिरो ताल हो ।

कुपिण्डे ताल (सल्यान)


सल्यानको पश्चिम क्षेत्रमा रहेको कुपिण्डे ताल प्राकृतिक सौन्दर्य र शान्त वातावरणको लागि प्रसिद्ध छ । यहाँको हरियाली र शान्त वातावरणले पर्यटकलाई मनमोहित बनाउँछ । कुपिन्डे दह नेपालको सल्यान जिल्लामा अवस्थित एक ताल हो । यो दह सल्यान जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य पनि हो । यो दह जिल्ला सदरमुकाम खलङ्गादेखि २४ किलोमिटर पश्चिममा अवस्थित छ । कुपिण्डे ताल प्राकृतिक सौन्दर्य र शान्त वातावरणको लागि प्रसिद्ध छ । मनोरम र आकर्षक कुपिन्डे दहको क्षेत्रफल एकिन नाप नभएता पनि स्थानीयहरूका अनुसार यो दह ५८ एकड क्षेत्रफलमा फैलिएको दावी रहेको छ । प्रत्येक वर्ष यो दहसँगै जोडिएर रहेको मन्दिरमा पूजापाठ गर्न छिमेकी जिल्लाका भक्तजनहरू आउने गर्छन् । यो मन्दिरमा मार्ग शुक्लपूर्णिमा र बैशाख शुक्लपूणिर्माका दिन मेला लाग्ने गरेको छ । यो दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी याममा रङ्ग परिवर्तन गर्ने गरेको विश्वास गरिन्छ । चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराउ कुपिण्डे दहले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएरै पठाउँछ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फैलिएको दह साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय स्थल हो कुपिन्डे दह ।
यस जिल्लाको कुपिण्डेदह यहाँको प्रमुख धार्मिक स्थल तथा पर्यटकीय को रुपले प्रसिद्व रहेको छ । यसका साथै खैरावाङ भगवती मन्दिर र छत्रेश्वरी मन्दिर प्रमुख धार्मिक स्थलको रुपले प्रसिद्व रहेका छन् । यसका अतिरिक्त अन्य पर्यटकिय एवं धार्मिक स्थलहरु यहाँ प्रसस्त मात्रामा रहेका छन् । खैरावाङदेवी, छत्रेश्वरी, कालिका भगवती, मोखला सिव गुफा, कमलाक्षी, आदि यर्यटकीय क्षेत्रको रुपमा रहेका छन् ।
सल्यानको दोस्रो अग्लो कुमाख लेक धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थल हो । यहाँको शान्त वातावरण र प्राकृतिक सौन्दर्यले पर्यटकलाई मनमोहित बनाउँछ । सल्यान जिल्लाको गौरव, इतिहास र शानको सगरमाथा बनेर उभिएको कुमाख लेक यहाँको प्रमुख धार्मिक, साँस्कृतिक एवम् प्राकृतिक पर्यटकीय स्थलको रुपमा सुपरिचित छ । सल्यान सदरमुकाम खलंगादेखि करिब ८ घण्टाको पैदल यात्राको दुरीमा रहेको यो लेक जिल्लाकै दोश्रो अग्लो पहाड पनि हो । यसको उचाई २५३७ मिटर रहेको छ । यस पहाडको शिरमा उभिएर समग्र सल्यान जिल्लाका साथै छिमेकी जिल्ला रुकुम, रोल्पा, जाजरकोट, बाँकेका समेत सुन्दर मनोरम प्राकृतिक दृश्यहरूको रसावलोकन गर्न सकिन्छ । कुमाख लेक आफैमा एक प्राकृतिक भ्यु–टावर हो । तैपनि, आगामी दिनमा यहाँ व्यवस्थित रुपमा बाइनाकुलर सहितको सुन्दर भ्यु–टावर निर्माण गर्न सकिएको खण्डमा यस स्थानलाई पर्यटकीय स्थलको रुपमा थप प्रचारप्रसार गर्न सकिने देखिन्छ । पर्यटकीय घुमघाम तथा दृश्यावलोकनका लागि कुमाख लेक निकै सम्भावना बोकेको स्थल हो ।
कुमाख लेकलाई प्रसङ्ग बनाएर सल्यानका गाउँबस्तीहरूमा गीतभाकाहरू गाउँने चलन पनि खुबै चल्तीमा रहेको पाउन सकिन्छ । यसका केही प्रतिनिधि उदाहरणको रुपमा तलका केही पंक्तिहरूलाई लिन सकिन्छ । सल्यान जिल्ला ऐतिहासिक महत्व बोकेको जिल्ला हो खैरावाङ भुवनेश्वरी मन्दिर लक्षमीपुर शक्तिपिठ छाँयाक्षेत्र मन्दिर कृष्ण मन्दिर देवस्थलका साथै कुपिण्डे ताल र कछुवा दह जस्ता तालहरु पनि रहेका छन् । जिल्लाको उतर पश्चिममा बग्ने भेरी नदी र मध्ये भागबाट बग्ने शारदा नदिका साथै मर्म खोला‚ वनगाड खोला‚ कोर्वाङ खोला‚ दार्मा खोला‚ मोखला खोला‚ चाक्ला खोला जस्ता खोलाहरु एंव ज्यूला वेशी र फांटहरुले जिल्लालाई उर्वरता प्रदान गरेका छ्न् । यस जिल्लामा अदुवा‚ बेमौसमी तरकारी र खसी बाख्रा पालनको राम्रो सम्भाव्यता रहेको छ ।

काँक्रेविहार (सुर्खेत)


सुर्खेत जिल्लाको वीरेन्द्रनगरको दक्षिणतर्फ करिब ३.५ किलोमिटर टाढा रहेको काँक्रेविहार धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थल हो । यहाँको अनौठो ढुङ्गा कलाले पर्यटकलाई आकर्षित गर्दछ । काँक्रे विहार नेपालको एक प्राचीन सभ्यताको भग्नावशेष हो । सुर्खेत जिल्लाको लाटिकोइली गाविसमा अवस्थित यस स्थानमा बौद्ध धर्म सम्बन्धि पुरातात्विक भवन तथा विहारहरूको भग्नावशेष भेटिएको थियो । कांक्रेबिहार भग्नावशेष नेपालको सबैभन्दा ठूलो भग्नावशेष अवस्थामा रहेको बौद्ध बिहार हो । काँक्रेबिहारको सुर्खेत क्षेत्र तत्कालिन खश साम्राज्य अन्तरगत पथ्र्यो । काँक्रेबिहारको पर्यटनको आकर्षण बन्दै गएको छ । तेस्तै बुलबुले ताल कर्णाली प्रदेशको राजधानी सुर्खेतको सदरमुकाम बिरेन्द्रनगर मा अवस्थित छ । जमिनमुनिबाट बुल्बुल गर्दै पानी आउने भएर यस तालको नाम बुलबुले ताल नामकरण गरिएको हो । यो समुन्द्र सतहबाट लगभग ६५७ मिटर (२१५७ फिट) को उचाइमा अवस्थित छ । यस जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा काक्रेबिहार र बुलबुले ताल रहेका छन् । यसका अलबा देउती बज्यै मन्दिर, लाटिकोइलीको शिव मन्दिर, शिद्वपाइला, गणेश चोकको शिव मन्दिर, गणेश मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, इत्रामको शिवालय, उत्तरगंगा जलेश्वर मन्दिर, छिन्चु र रेडियो नेपालको उत्तर तिरको देउती मन्दिर, भोटेचुली(गुमी चुली) शिव मन्दिर, बराह ताल, चमेरो गुफा, बिजौरा, भेरी नदि कर्णाली नदि, र्याफटीङ चौकुखानी, पन्चपुरि मन्दिर, कोटको थुम्को(सिम्ता बजेडीचौरे),भोटेचुली(खानीखोला), सिम्ताउपत्यका आदी सुर्खेत जिल्लाका पर्यटकीय क्षेत्र हुन् ।

पञ्चकोशी ज्वाला क्षेत्र दैलेख

दैलेखको पञ्चकोशी ज्वाला क्षेत्र धार्मिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थल हो । यहाँको शिरस्थान र नाभिस्थानमा पानीमाथि आगोको ज्वाला देख्न सकिन्छ । पञ्चकोशी दैलेख जिल्लामा पर्ने नेपालकै एक पवित्र तीर्थस्थल हो । यो क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकोले यस तीर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तीर्थ पनि भनिन्छ । हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणमा यस क्षेत्रलाई बैश्वानर तीर्थ भनेर वर्णन गरिएको छ । यस तीर्थलाई अग्नि तीर्थ भनेर पनि चिनिन्छ । प्राचीनकालका खसमल्ल राजाहरूले यस तीर्थलाई पञ्कोशी भनेर नामांकन गरी तीर्थ यात्राको थालनी गरे यता यस तीर्थको नाम पञ्चकोशी रहन गएको अनुमान छ । पश्चिम नेपालका हिन्दू धर्मावलम्बीहरूले यस क्षेत्रमा देव कर्म, पितृ कर्म लगायतका धार्मिक अनुष्ठान गर्नाले सिद्धी प्राप्त हुने विश्वास गर्दछन् । भौगोलिक विकटताको कारणले उजागर हुन नसकेको पञ्चकोशीले धार्मिक, ऐतिहासिक, पर्यटकीय र आर्थिक महत्वसमेत ओगटेको छ । पञ्चकोशी नेपालकै प्रचुर मात्रामा पेट्रोलियम ग्यासको सम्भाव्य क्षेत्र हो । वि.सं. २०७२ को चैतमा नेपाल र चिन बीच भएको द्विपक्षिय सम्झौता अनुसार यस क्षेत्रमा पेट्रोलियम ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिन बनेको परियोजनालाई नेपाल सरकारले स्विकृत गरेको थियो । अब नेपाल र चिनको खानी विभागस्तरबाट यो परियोजना सञ्चालन हुँदै छ ।
नेपाली भाषाको उत्पत्ति स्थान जुम्लाको सिंजालाई मानिए पनि नेपाली भाषाको सबैभन्दा पुरानो अभिलेख यसै पञ्चकोशी क्षेत्रको दुल्लुमा रहेको छ । अहिलेसम्मको अध्यायन अनुसार सबैभन्दा पुरानो मानिएको दामुपाल, अढईपाल द्वारा शाक्य ९ सय तिन तदानुशार वि.सं. १ हजार ३८ को शिलालेख यसै क्षेत्रमा रहेको छ । यसका साथै वि.सं. १४१४ को पृथ्वी मल्लले बनाएको सातहात लामो किर्तिस्तम्भ पनि यसै क्षेत्रमा रहेको छ । यसका साथै पादुकामा रहेको अशोक चल्लको स्तम्भ शीरस्थानमा रहेको अभिलेखका साथै बाटोभरि जताततै गाडिएका वीरखम्बाहरूमा भएका अभिलेखहरूले नेपाली भाषा तथा पश्चिम नेपालको इतिहास केलाउनमा धेरै महत्त्व राख्दछन् । तसर्थ यो क्षेत्रलाई नेपालकै ऐतिहासिक महत्व बोकेको स्थानको रूपमा लिइन्छ । यस क्षेत्रको प्राकृतिक सौन्दर्यता, यहाँको संस्कृति र यस क्षेत्रमा रहेका अगण्य धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरूले यस क्षेत्रमा आउने कुनै पनि बाह्य तथा आन्तरिक पर्यटकहरूको मन लोभ्याउन सफल भूमिका निर्वाह गर्ने भएकाले यस क्षेत्रले पर्यटकीय महत्त्वलाई पनि त्यत्तिकै अंगालेको छ । धार्मिक महत्वको कुरा गर्नुपर्दा यस क्षेत्रलाई संसारका सबै तीर्थहरू भन्दा पनि पुण्यक्षेत्र मानिएको छ ।
तेस्तै दुल्लु दरबार दैलेख बाइसे चौबिसे शासनकालमा छुट्टै राज्य रहेको दुल्लु दरबार ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थल हो । यहाँको भग्नावेश, कीर्तिखम्ब र नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख पर्यटकलाई आकर्षित गर्दछ । दैलेख ऐतिहासिक, धार्मिक पुरातात्विक र पर्यटकीय हिसाबले महत्वपूर्ण जिल्ला हो । पाण्डवका देवल, ललाटेश्वर महादेवको मन्दिर, नेपाली भाषाको पहिलो शिलालेख लगायतका पर्यटकीय स्थलहरु यस जिल्लामा पर्दछन् ।

जाजरकोट दरबार


जाजरकोट जिल्लाको सदरमुकाममा अवस्थित ऐतिहासिक महत्व र कलात्मकता बोकेको यो दरबार गोरखाका राजा पृथ्वीनारायण शाहका मित अर्थात् जाजरकोट राज्यका छैटौँ राजा हरि शाहले १८२५ सालमा यो दरबार निर्माण गरेका थिए । सात तले यो दरबार १९९० सालको भूकम्पपछि चार तला बनाइएको थियो । जाजरकोट प्राकृतिक स्रोत–साधनले धनी जिल्ला हो । तर, प्रचार–प्रसार तेती भएको मानिदैन । प्राकृतिक विविधता मात्र नभएर कला–संस्कृतिको जीवन्त क्षेत्र हो, जाजरकोट । मूल्यवान जडीबुटी, भेरी नदी, ऐतिहासिक दरबारले जाजरकोटको छुटै परिचय छ । स्रोतको उचित सदुपयोग हुन सकेको छैन । खुँडा, दमाहा, मयुरजस्ता मौलिक नाचको यो जिल्लामा पहिचान हुन । भेरी नदी हुँदै कर्णाली चिसापानी पुलसम्मको साहसिक जलयात्रा निकै रोमाञ्चकारी हुने देखिए पनि त्यसले व्यावसायिक रुप लिन अझै लामो समय लिनेछ । जाजरकोट जिल्लामा भेरी नदि, छेडागाड र नलसिङ्ग गाड नौधरी ताल, बेर पोखरी (खलंगा) नौमुली ताल (कामीडाँडा), पोखरा ताल (भुर) यहाँ रहेका नदि तथा तालतलैया हुन भने शिवालय, कालिका मन्दिर, सरुपैंकको मष्टो देवताको थान, दशेराको रुकमाला, बजुथान, सक्लाको पिनलेखी, चित्रलेखदेवी, शेषनारायण मन्दिर, भैनगाँउ, राँगा बाँचिलो देवताको स्थान लगायतका पर्यटकीय तथा धार्मि स्थलहरु यो जिल्लामा पर्दछन् ।

सिस्ने हिमाल रुकुम पश्चिम

रुकुम पश्चिमको सिस्ने हिमाल पर्वतारोहण र ट्रेकिङका लागि उपयुक्त स्थल हो । यहाँको हिमाली दृश्य र साहसिक गतिविधिहरूले साहसिक प्रेमीहरूलाई आकर्षित गर्दछ । सिस्ने हिमाल रुकुम को उत्तरी सिमानामी अवस्थित रमणिय एबम् सुन्दर हिमालको नाउ हो । यसलाई स्थानिय भाषामी मुर्कट्टा हिमाल पनि भनिन्छ । यो कान्जिरोवा हिम श्रीङ्खला अन्तर्गत पर्दछ। यइको उचाई ५,८४१ मि. छ । यस हिमालमा आजसम्म कोही पनि नचढ्याको हुंदा यइलाई कन्या हिमाल पनि भनिन्छ । यो हिमालको वरिपरि बिभिन्न सना–ठूला हिम्तालहरू रह्याका छन् । रुकुमकोटको पूर्वी–उत्तरका मैदान डांडा वा खोर्सले लगायतका डांडाबाट सिस्ने हिमालको मनमोहक दृश्य अवलोकन सकिन्छ ।
औपचारिक रूपले पश्चिमी रुकुम जिल्ला रुकुम जिल्लाकै एक भाग थियो । ३ असोज २०७२ मा, राज्यले प्रशासनिक विभाजनको पुनर्निर्माण गरेपछि रुकुम र पूर्वी रुकुम गरि दुई जिल्लामा विभाजन गरिएको थियो । रूकुम पश्चिम जिल्लाका प्रमुख पर्यटकीय स्थलहरू सिस्ने हिमाल, पुथा हिमाल, स्यार्पू ताल, कमल ताल, सुन दह, गुप्ता दह, सम्पे ताल, देउराली गुफा, तकसेरा गांउ, लुकुम गाउँ, राङसी गाउं, कोल गाउँ, हुकाम गाँउ, मैकोट गाउँ, महत गाउँ, कांडा गाउँ र सीमा गाउँका मगर वस्तीहरू, गोतामकोटको बस्ती, रुकुमकोटको वस्ती, चौरजहारी वस्ती, चांपा तरकारी विऊ उत्पादन केन्द्र, कानखाने लेक मौराखारा लेक, सिमैछरी झरना, सातामाटे कालापोखरा क्षेत्र, चित्री पाटन, लालपाटन, ढोरपाटन वन्यजन्तु आरक्ष आदि पर्दछन् । तेस्तै डिग्रे साईकुमारी भगवती र कालिका मन्दिर खलंगा, बराह मन्दिर र शिवजी मन्दिर रुकुमकोट , गाधिघर देउती मन्दिर बांफिकोट, देवीस्थान, सिस्ने, शिवजी मन्दिर विजयश्वरी चौरजहारी, चर्चघर मुसिकोट र तकसेरा , मस्तथान मैकोट, कालिका मन्दिर गोतामकोट, लक्ष्मीनारायण मन्दिर आठविसकोट आदि रूकुम पश्चिम जिल्लाका प्रमुख धार्मिक स्थलहरू हुन् ।

जुम्लाको सिञ्जा सभ्यता

सिञ्जा उपत्यका नेपालकै एक ऐतिहासिक र महत्वपूर्ण पर्यटकीय स्थल हो । जुम्लाको सिञ्जा सभ्यता सरकारले छनोट गरेका नयाँ गन्तव्यमा पर्न सफल भएका पर्यटकीय गन्तव्य हो । सिञ्जा सभ्यता नेपाली भाषाको उद्गमस्थल र सिञ्जा राज्यले समेत परिचित क्षेत्र हो । बाइसे र चौबिसे राज्यको समयमा सिञ्जा एक बलियो राज्यका रुपमा रहेको थियो । सदरमुकामबाट करिब तीन घन्टा पैदलयात्रामा सिञ्जा क्षेत्र पुग्न सकिन्छ । डुडुल चैत्य यहाँको नयाँ पर्यटकीय गन्तव्य हो । कर्णाली प्रदेश अन्तरगत पर्ने १० जिल्लाहरु मध्ये जुम्ला एक दुर्गम हिमाली जिल्ला हो ।
यस जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू श्री चन्दननाथ मन्दिर, श्री भैरवनाथ मन्दिर, श्री दरवार मन्दिर, श्री कनकासुन्दरी मन्दिर, श्री चिमरामालिका भगवती मन्दिर, श्री शिव मन्दिर, श्री ठाकुरज्यू मन्दिर, भण्डार वन, सिस्ने हिमाल, पातारासी हिमाल, रारा राष्ट्रिय निकुञ्ज खण्ड, सिंजाक्षेत्र, तातोपानी, गोठिचौर, बागबानि स्याउ तथा तरकारी फारम् , कणालि प्राबिधिक, हुड्के दह र पाण्डव गुफा यस जिल्लामा देखिएका धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरू हुन् । जुम्ला जिल्लामा रहेका प्रमुख नदी र ताल तलैयाहरू तिला, हिमा, जुवा नदीहरू हुन् भने विष्णु ताल, हुड्के ताल, जोगीनी ताल, शङ्ख दह, ठाकुरज्यू दह, गिडी दह आदि प्रमुख ताल र दहहरू हुन् ।

पचाल झरना कालिकोट

पचाल झरना कालीकोट जिल्लाको सदरमुकाम मान्मादेखि १८ कोस उत्तर–पूर्वमा रहेको राम्नाकोट गाविस वडा नम्बर ७ र ८ मा पर्ने पचाल झरना ३ सय ८१ मिटर अग्लो झरना हो । कालीकोटको पचाल झरना नेपालकै अग्लो मानिएको अर्को ह्यातुङ झरनाभन्दा करिब १६ मिटर अग्लो भएको मानिन्छ । जंगलको बीचबाट निस्केको पानीको छहराको दृश्य मनमोहक भए पनि पर्यटकीय विकास नहुदा ओझेलमा परेको हो । घना जंगलको बीचमा पर्ने पचाल झरना कर्णाली प्रदेशका चर्चित धार्मिकस्थल पुगमालिकाबाट बग्ने पानीका मूल एकै ठाउँमा मिसिएपछि बनेको छ ।
नयाँ पर्यटकीय गन्तव्यमा कालिकोटको पचाल झरना छनोटमा परेको छ । पचाल झरना गाउँपालिकाको खार्दुमा रहेको ‘पचाल झरना’ उत्कृष्ट नयाँ पर्यटकीय गन्तव्यमा पर्छ । ३ सय ८१ मिटर लम्बाइ भएको यो एसियाकै सबैभन्दा अग्लो झरनाका रूपमा दाबी गरिएको छ । तर हाल ३ सय ६५ मिटर अग्लो तेह्रथुमस्थित ह्यातुङ झरना नेपालकै सबैभन्दा अग्लो झरनाको रुपमा परिचित छ । कालिकोट सदरमुकामदेखि करिब १६ घन्टाको पैदल यात्रापछि पचाल झरनामा पुग्न सकिन्छ ।
कालिकोट जिल्लामा रहेका प्रमुख धार्मिक पर्यटकिय क्षेत्रहरू कालिकोट जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिक स्थल तथा मन्दिरमा बडीमालिका मन्दिर, चुली मालिका मन्दिर, पुग मालिका मन्दिर,महावुअ शिव मन्दिर, पंचदेवल (पंच पाण्डवद्धारा निर्मित), चुलीमालिका मन्दिर (मान्म, पाँखा र वदालकोट बीच) तिला गुफा, (रांचुली) ढुँगे बगैचा, महाबु मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, देउली, रामारोशन, पचाल झरना, फुगाड झरना, पचछहरी झरना आदि प्रमुख रहेको पाइन्छ । कालीकोट र बाजुरा जिल्लाको सिमानामा अवस्थित बडीमालिका मन्दिर पर्यटकीय एवं धार्मिक दुवै दृष्टिले महत्वपूर्ण छ जुन हिन्दुहरुका लागि झनै महत्वपूर्ण मानिन्छ । यिनलाई ब्यवस्थित तरिकाले संरक्षण र सम्र्वद्र्धन गरी वाह्य र आन्तरिक पर्यटनलाई आर्कषण गरी पर्यटकिय क्षेत्रकोरुपमा विस्तार गरे यस जिल्लाको आय आर्जनमा टेवा पुगि गरिवी निबारणमा सहयोग पुग्ने देखिन्छ । जसको लागि विभिन्न तह र तप्कावाट प्रचार प्रसार गर्न आवश्यक छ । पर्यटन वर्ष २०११ लाई लक्षित गरि विभिन्न स्थानीय सांस्कृतिक कार्यक्रमहरु मार्फत पनि पर्यटकलाई यस जिल्लामा भित्राउन सकिने प्रवल संभावना देखिन्छ ।

लिमी उपत्यका क्षेत्र हुम्ला


लिमी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्र विकास क्षेत्रको कर्णाली अञ्चल, हुम्ला जिल्लामा अवस्थित एक गाविस थियो । एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९०४ रहेको थियो जसमध्ये ४०९ पुरुष र ४९५ महिला रहेका थिए भने यहाँ १८१ घरधुरी रहेको थियो । यो हाल नाम्खा गाउँपालिकामा पर्दछ । हुम्लाको ‘लिमी उपत्यका’ सरकारले छनोट गरेको नयाँ पर्यटकीय क्षेत्र हो । जिल्ला सदरमुकाम सिमिकोटबाट करिब एक हप्ताको पैदल यात्रापछि लिमी उपत्यकामा पुग्न सकिन्छ । ११ औं शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका सानाठूला गुम्बा यहाँका मुख्य आकर्षणका केन्द्रविन्दु हुन् ।
खस साम्राज्यको आधार खण्ड र तिब्बती संस्कृति यहाँका अन्य आकर्षण हुन् । लिमी उपत्यका प्राचीनकालका बहुमूल्य मूर्ति र गुम्बा नै गुम्बाको उपत्यका हो । महँगा मूर्ति, पौराणिक वास्तुकला त्यहाँका थप विशेषता हुन् । पुराना गरगहना, यहाँको गुम्बामा कुँदिएका पौराणिक कलाकृतिलगायतका वस्तु अति नै लोभ लाग्दा छन् ।
हुम्ला जिल्लाका धार्मिक, एतिहासिक एवं पर्यटकीय स्थलहरु खार्पुनाथ मन्दिर, रिन्चेलिङ्ग गुम्बा, लिमि उपत्यका, रलिङ्ग गुम्बा, याल्वाङ गुम्बा, तिब्बतको मानसरोवर र कैलाश पर्वत पुग्ने प्रमुख मार्ग, कर्णाली जलविहार, पञ्चमुखी, दुधकुण्ड, गोरख खाङ हिमाल (वि.सं. २०७१ बाट खुला गरिएको) , तातोपानीका मुहानहरु । कर्णाली, चुवाखोला, गल्फुगाड, गोठी खोला, हनुमानेखोला, कारङ्गखोला, टाक्चीखोला, कवाडीखोला, हिल्दुङ्गखोला, टाकेखोला, कुमुचीयाखोला, लुरुप्याखोला, हेप्काखोला, डोजाम खोला पर्दछन् । स्रोत तथा सन्दर्भ सामाग्रीः विकिपिडिया र चिनारी नेपाल