सल्यान खलंगाको बयलडाँडामा अवस्थित सङ्गीत टोल—जहाँ पहाडको शान्ति छ, तर सपना चर्को स्वरमा बोल्छन् । त्यही माटोमा जन्मिएका हुन् पूर्ण बहादुर गन्धर्व । आज उनी नेपाली रंगमञ्चमा निरन्तर पसिना बगाइरहेका एक थिएटर आर्टिस्ट हुन्, तर उनको यात्रा कुनै सिधा बाटो थिएन । त्यो सपना, सङ्घर्ष र आत्मसमर्पणको कथा हो ।
सल्यान खलंगामा रहेको श्री लुहापिङबाट एसएलसी, ह्वाइटहाउस कलेजबाट प्रविणता तह र पाटन क्याम्पसबाट रसायनशास्त्रमा स्नातक,  कागजमा हेर्दा विज्ञानको विद्यार्थी, तर मनको कुनामा कतै अर्कै आगो सल्किरहेको थियो। सल्यानबाट डाक्टर बन्ने सपना बोकेर काठमाडौं छिरेका गन्धर्व, परिस्थितिका ठक्करहरूमा त्यो सपना साकार गर्न सकेनन् । डाक्टर बन्न नसकेको पीडा उनको जीवनको अन्त्य थिएन, बरु नयाँ जीवनको सुरुवात थियो ।
गायन र वादनमा सानैदेखि रुचि राख्ने गन्धर्वको कलाकार बन्ने चाहना तब झनै गहिरियो, जब उनले आमिर खानका फिल्म ‘थ्री इडियट्स’ र ‘तारे जमीन पर’ हेरे। ती फिल्महरूले उनलाई सिकाए—सफलता केवल उपाधिमा होइन, आत्मासँग इमानदार हुन सक्नुमा पनि हुन्छ। त्यसपछि उनी अभिनयतर्फ मोडिए—सपना होइन, नियत बनाएर ।


मण्डला थिएटरमा अभिनयको औपचारिक प्रशिक्षण लिएपछि गन्धर्व रंगमञ्चमा पसिना साट्न थाले। स्टेज नाटक, सडक नाटक, छोटा फिल्म, म्युजिक भिडियो हुँदै चलचित्रसम्म—उनको यात्रामा कुनै चम्किलो shortcut थिएन। थियो त केवल अभ्यास, अस्वीकार, थकान र फेरि उठ्ने साहस। अभिनयसँगै उनले कथा पनि लेख्न थाले, किनकि उनका अनुसार—“कथा भन्न नसक्ने कलाकार अधुरो हुन्छ।”
पूर्ण बहादुर गन्धर्व रंगमञ्चलाई मनोरञ्जनको साधन मात्र मान्दैनन्। उनका लागि रंगमञ्च समाजसँग आँखा जुधाएर कुरा गर्ने ठाउँ हो।
“मञ्चमा देखाइने कथा दर्शकको जीवनसँग नजोडिएसम्म त्यसले अर्थ राख्दैन,” उनी भन्छन्, “दर्शकले आफ्नै पीडा देखेपछि मात्र नाटक बोल्न थाल्छ।”
उनको अभिनय दर्शन सरल तर गहिरो छ। “पात्रको अभिनय होइन, पात्रको जीवन बाँच्नुपर्छ,” उनी भन्छन्, “जब कलाकारले पात्र महसुस गर्छ, तब मात्र दर्शकसम्म सत्य भावना पुग्छ।” सायद यही इमानदारी नै हो, जसले उनलाई भीडभन्दा अलग बनाउँदै लगेको छ। नेपाली रंगमञ्चको वर्तमान अवस्था उनलाई भ्रममा राख्दैन। संरचनाको अभाव, आर्थिक संकट र सीमित स्रोतबीच पनि रंगमञ्च बाँचिरहेको छ—कलाकारहरूको रोजिरोटीले। “अनेकौं अभावका बाबजुद रंगमञ्चमा टिकिरहनु हाम्रो अस्तित्व हो,” उनी भन्छन्, “तर त्यही कुरामा नै हाम्रो सबै अस्तित्व छ।”
उनका लागि रंगमञ्च धैर्यको अभ्यास हो—जहाँ छिटो सफलताभन्दा पनि निरन्तरता ठूलो मूल्य हो।

हाल गन्धर्व बेदना राईद्वारा निर्देशित र गीलु रातोसद्वारा लिखित नाटक ‘ए थिबेउ १’ मा हक्काउको भूमिकामा देखिँदै छन्। किराँत समुदायको कथा ‘थिबिया’बाट प्रेरित यो नाटक सन्तान खोजिरहेकी एक आमाको चित्कार हो—शब्दभन्दा भारी मौनको कथा।
“यो नाटक सन्तान खोजिरहेको एक आमाको आवाज हो,” गन्धर्व भन्छन्, आँखामा गहिरो भाव बोकेर।
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको यो नाटक फागुन ४ गतेसम्म चल्नेछ। हरेक दिन मंगलबार बाहेक सवा ५ बजे सुरु हुने यस नाटकमा पूर्ण बहादुर गन्धर्वसँगै संगीता थापा, रोश्री कार्की, डेबिड सुवेदी, अभिषेक, सञ्जिब यौगी, सञ्जिब राईलगायत २० कलाकारको सामूहिक श्रम देख्न सकिन्छ।
जीवनको कुनै मोडमा समाजसेवा र राजनीतिमा समेत संलग्न गन्धर्व, कलाकारितामा प्रवेश गरेपछि अन्य सबै बाटोबाट अलगिए। आज उनी निसङ्कोच भन्छन्—
“मलाई अभिनयको भोक छ। अभिनयका लागि सबै कुरा छोड्न म तयार छु।”
पूर्ण बहादुर गन्धर्व कुनै स्टार होइनन्, तर उनी ती कलाकार हुन् जसले रंगमञ्चलाई अझै बाँचिराख्ने साहस दिएका छन्। उनी मञ्चमा उभिँदा केवल पात्र बोल्दैन—त्यहाँ एउटा जीवन बोल्छ, एउटा सपना बोल्छ, र एउटा नथाक्ने आत्मा दर्शकसँग संवाद गर्छ।
र शायद यही कारण हो—पूर्ण बहादुर गन्धर्व रंगमञ्चमै हराएर होइन, रंगमञ्चमै आफूलाई भेटिरहेका छन्।