नोखिराम थापा

नेपालमा युवाहरु बाह्य देशमा जानेक्रम बढ्दो छ । शिक्षा र रोजगारीका लागि लाखौं नेपाली युवाहरुले विदेशी भूमिमा समय र श्रम खर्च गरिरहेका छन् । यसरी नै देश निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने जनशक्ति विदेश पलायन हुनु चिन्ताको विषय बनेको छ । अहिलेकै गतिमा युवा पलायन भइरहने हो भने यो मुलुकको समृद्धिमा कठिनाई हुदै जाने देखिन्छ ।
विशेष गरी १६ वर्षदेखि ४० वर्ष उमेरसम्मका व्यक्ति नै युवाको कोटीमा पर्छन् । विभिन्न मुलुकले युवाको उमेर अवधिलाई आआफ्नै ढङ्गबाट परिभाषित गरेका छन् ता पनि समग्रमा युवा भन्नाले त्यहि उमेर समूहलाई जनाउछ । संयुक्त राष्ट्रसङ्घले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको देखिन्छ । नेपालमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । नेपालको कुल जनसङ्ख्याको ४० प्रतिशतभन्दा बढी हिस्सा युवाले ओगट्छन् । औपचारिक आँकडा कम भए पनि अनौपचारिक रूपमा समेत गरेर ८० लाख हाराहारीमा नेपाली विश्वका १७० बढी मुलुकमा विदेशिएको आँकडा विभिन्न स्रोतमा प्रकाशित भएको पाइन्छ । युवा पलायन हुँदा स्वदेशी उत्पादनमा कमी आउन थालेको छ । हजारौं खेतीयोग्य जमिन आज बाँझोमा परिणत भएको छ । कृषिप्रधान मुलुक हुँदाहुँदै पनि धनिया, अदुवा र बेसारमा समेत परनिर्भर बनिरहनुपरेको छ । यी वस्तु पनि हाम्रो मुलुकमा उत्पादन हुन नसकेर ठूलो धनराशि बाहिर पठाइरहेका छौँ । युवाहरुलाई आकर्षित गर्ने उद्योग धन्दा केहि थपिन सकेका छैनन् । युवाले काम गरेबापत पाउने ज्यालादर पनि तुलनात्मक रूपमा न्यून रहेको छ । जसबाट बढ्दो महँगीसहितको दैनिकी धान्न धौ–धौ अवस्था रहेको छ । वैदेशिक रोजगारीबाट कमाएको रकमसमेत उत्पादनमुखी क्षेत्रमा भन्दा पनि उपभोगमै खर्च हुने भएकाले वस्तु तथा सामान खरिद गर्दा रकम पुनः विदेशिन जाँदा रेमिट्यान्सबाट उल्लेखनीय लाभ लिने गरी उपयोग हुन सकेको छैन । हामीकहाँ श्रम गर्ने र श्रमको सम्मान गर्ने संस्कृति दुवैको खडेरी पर्दै छ । न युवामा स्वदेशमा नै केही गर्ने जाँगर छ न विश्वास छ न युवाको बुझाइमा कार्यवातावरण नै छ । यसको कारण युवा बाहिरिने क्रम बढिरहेको छ र भविष्यमा तीव्र बढ्ने देखिन्छ ।

नेपालमा युवाहरु आकर्षण गर्ने खालका उद्योग व्यबसाय केही पनि थपिन सकेका छैनन् । अपेक्षा गरेअनुरूप जागिरको सम्भावना पनि नरहेको हुनाले युवाहरु बाध्य भएर बाह्य मुलुकमा धाउँछन् । औपचारिक तथा अनौपचारिक रूपमा लाखौँ युवा जोखिमयुक्त परिवेश तथा कम वेतनमा नै पनि काम गर्न बाध्य बनिरहेका छन् । सबैलाई एकै खालको अवसर मिलिरहेको छैन वैदेशिक रोजगारीमा । कोही राम्रो धन आर्जन गरिरहेका छन् भने कोही विदेशमै ठगिएका छन्, कोही श्रम शोषणमा परिरहेका छन् भने कोही दलालको फन्दामा परी स्वदेशमै ठगिएका छन् । युवा जनशक्ति पलायनले मुलुकमा नैराश्यता थपिएको छ । ग्रामिण भेगबाट मात्र होइन, शहर बजार सवैतिरबाट युवाहरु विदेश पलायन भईरहेका छन् । मुलुक झन झन परनिर्भर हुँदै गएको छ । भएका उद्योगधन्दाहरु पनि निरन्तर बन्द हुने क्रममा छन् । परम्परागत सीप पनि लोप हुने र नयाँ उद्योग स्थापित गर्न नसक्नुले मुलुक निरन्तर समस्याग्रस्त बन्दैछ । त्यसमा पनि युवाहरु पलायनले अँझ बढि चिन्तित बनाएको छ । देश भक्त जो कोहि नागरिक आज चिन्तित बन्ने अवस्था छ ।