१३ चैत, काठमाडौं ।
चैतको दोस्रो हप्तामै देशभर वनजंगलमा डढेलो फैलिएको छ । वन विभागको तथ्यांकअनुसार शुक्रबार मात्रै ४३७ ठाउँका वनजंगलमा आगलागी भइरहेको छ ।
यो गत वर्षको यही अवधिको तुलनामा उच्च दरको वनडढेलो हो । वन विभागका जीआईएस शाखाका उपसचिव सुन्दर शर्माका अनुसार ५४ जिल्लाका वनमा डढेलो देखिएको छ । विभागका अनुसार पश्चिम तराई, मध्य तराई र पश्चिमी तथा मध्यपहाडी क्षेत्रका वनमा बढी डढेलो लागेको छ ।
बिहीबारसम्म यस्तो आगलागी ४७ जिल्लामा मात्रै थियो ।
| वर्ष | दिन | डढेलो लागेका जिल्ला | स्थान |
| २०१७ | २६ मार्च | ४ | ६ |
| २०१८ | २६ मार्च | १७ | ३८ |
| २०१९ | २६ मार्च | १६ | ५४ |
| २०२० | २६ मार्च | ४ | ७ |
| २०२१ | २६ मार्च | ५४ | ४३७ |
२०१६र१७ मा ४८ जिल्लाको ३१० स्थानमा डढेलो लागेको थियो भने २०१७र१८ को सोही अवधिमा ६१ जिल्लाको ४९५ स्थान तथा २०१८र१९ मा ६३ जिल्लाको ८०१ स्थानमा डढेलो लागेको विभागको तथ्यांकले देखाएको छ । विभागले १५ नोभेम्बरदेखि २५ मार्च अवधिको डढेलोको पनि तथ्यांक राखेर समीक्षा गरेको छ ।
२०१९र२० मा ३७ जिल्लाको १६५ स्थानका वन क्षेत्रमा आगलागी भएको थियो । तर सन् २०२० को नोभेम्बर १५ देखि २०२१ को मार्च २५ सम्म ७३ जिल्लाका २ हजार ८७ स्थानमा आगलागीकै घटना भएको विभागले जनाएको छ ।
तथ्यांकअनुसार विगत चार वर्षको समीक्षा अवधिमा कुल १७ सय ७१ वटा डढेलोका घटना भएकोमा यो वर्षको हालसम्मको अवधिमा त्यस्तो संख्या २ हजार नाघेको छ ।
पाँच वर्षको तुलनात्मक चार्ट
शर्माका अनुसार यो डढेलो दरको उच्च विन्दुतिर लाग्ने सुरुआती समय हो । विगतको तथ्यांकअनुसार वैशाखको दोस्रो साता सबैभन्दा बढी डढेलोका घटना हुन्छन् । यो समयमा डढेलोको ग्राफ उकालो लागे पनि चैतमै यति धेरै घटना हुँदैन थिए ।
‘डढेलोको पिक सिजन नआउँदै देशका धेरै ठाउँमा डढेलोको घटना विगतका वर्षहरुमा भन्दा उच्च देखिएको छ’ उनले भने, ‘सतही डढेलोको कारण निस्किएको धुवाँले स्थानीय क्षेत्रमा जनजीवन कष्टकर बनाएको छ ।’
प्रदूषणको कारक
चितवन, मकवानपुर, पर्सा, बारा, नवलपरासीलगायत जिल्लाका आकाश दुई दिन अघिदेखि नै धुवाँमय भएका थिए । त्यसले गर्दा चितवनको भरतपुर विमानस्थलमा बिहानको समयमा विमान उडान–अवतरण हुन सकेको थिएन । शुक्रबार भरतपुरबाट हुने धेरैजसो उडान प्रभावित भएका छन् ।
प्रदूषण सूचकः मकवानपुर मनहरीको दुई दिनअघि र शुक्रबारको दृश्यबीचको तुलना, तस्वीरस् शिवकुमार रिजाल
वन डढेलोका कारण शुक्रबार काठमाडौंको वायु प्रदूषणको दर पनि बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार पश्चिमबाट पूर्वतिर हावा बहेको छ । पर्सा, चितवन र मकवानपुरका जंगलमा ठूलो डढेलोहरु फैलिएका छन् । त्यसको असरले हावासँगै धुवाँ पनि काठमाडौंमा आएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजु प्रधानांग बताउँछन् ।
‘काठमाडौंमा त डढेलो छैन, तर हावासँगै अन्य क्षेत्रको डढेलोको धुवाँ उपत्यका छिरेको देखिन्छ’ उनले भने, ‘पानी नपरेका कारण पनि प्रदूषित वायु छ ।’
शुक्रबार राजधानी काठमाडौंको प्रदूषण
वन विभागका उपसचिव शर्मा काठमाडौंमा गन्ध नै आउने र आँखा पोल्ने गरी धुवाँबाट प्रदूषण फैलिएको बताउँछन् । ‘मुख्य रुपमा काठमाडौंमा धुवाँले नै ढाकेको देखिन्छ’ उनले भने,‘उपत्यका वरपरको क्षेत्रमा सक्रिय डढेलो छन्, त्यसकै असरले वायुमण्डल प्रदूषित भएको हुनसक्छ ।’
किन बढ्यो डढेलो
आगलागीको घटनाले केही स्थानमा बाहेक मानववस्तीमा असर पुर्याएको छैन । तर, वन्यजन्तु, वनस्पति र जडीबुटी डढेलोबाट प्रभावित भइरहेको उपसचिव शर्मा बताउँछन् ।
वन विभागका अनुसार हिउँदको वर्षात् र हिमपात कम भएकाले यो वर्ष जाडो मौसमदेखि नै विगतको तुलनामा वनमा आगलागीको घटना बढ्न थालेका थिए ।
पाथीभरा, मनाङ–मुस्ताङको जंगलमा रुख नै बल्ने गरी ‘छाता डढेलो’ लागेको थियो । अहिले तराई र पहाडका जंगलमा पात पतिङ्गर झरेर थुप्रिएका छन् । चिस्यान पनि कम भएकाले डढेलोको घटना बढेको हुनसक्ने शर्माले बताए ।
‘सन् २०१२मा लाङटाङमा छाता डढेलो लाग्दा २० किलोमिटरसम्म धुवाँको मुस्लो फैलिएको थियो, त्यतिबेला पनि काठमाडौंमा यसैगरी धुवाँ आएको थियो’ विगतको स्मरण गर्दै उनले भने,‘अहिले पनि कुनै क्षेत्रमा छाता डढेलो लागेको हुनसक्छ ।’ छाता डढेलोबाट धुवाँ धेरै मात्रा र छिटो फैलिने गरेको छ ।
वर्षमा नेपालमा औसत २५ सय वटा आगलागीका घटना हुन्छन् । यस्तो आगलागीको घटना मुख्य रुपमा यसै सिजनमा हुन्छ । औसत करिब २ लाख हेक्टर वन क्षेत्रलाई आगोले प्रभावित गर्छ । यो वर्ष पनि यस्तो क्षति बढ्ने देखिएको वन विभागको विश्लेषण छ ।
मुख्यगरी घाँस–दाउरा गर्न र गाईवस्तु चराउन जंगल जानेहरुले पनि आगो लगाउने गरेका छन् । घाँस दाउरा र गोठालोमा जानेहरुले असावधानीवश चुरोट खाएर फाल्दा पनि आगो सल्किने गरेको छ । भीरपाखा र मैदानमा नयाँ घाँस पलाउने भन्दै जानाजान आगो लगाउने गर्छन् ।
विभागका अनुसार वनमा चट्याङलगायतका प्राकृतिक कारणबाट पनि आगलागीका घटना हुन्छन् । तर, अहिले आगलागी गराउने गरी चट्याङ पनि नपरेको शर्मा बताउँछन् । ‘नेपालमा प्रायः चट्याङ र पानीसँगै पर्छन्’ उनी भन्छन्,‘आगो लागिहाले पानीबाटै निभ्ने गरेको पाइन्छ ।’
विभागको तथ्यांक अनुसार ६४ प्रतिशत डढेलोका घटना नियतवश नै घटाउने गरिएको छ । त्यसैगरी ३२ प्रतिशत डढेलोको घटना असावधानी र दुर्घटनावश हुने गरेका छन् । ४ प्रतिशत घटनाको कारण पत्ता लगाउन सकिएको छैन ।
मौसम विज्ञान विभागका मौसमविद् प्रधानांग अहिले हुरीबतास चल्ने बेला पनि भएकाले एक ठाउँबाट अर्को ठाउँसम्म आगो छिटो फैलिने बताउँछन् । यसरी वनमा डढेलो लाग्दा वर्षमा कति वन्यजन्तु, बोटबिरुवा, जडीबुटी र काठ नोक्सानी हुन्छ भन्ने तथ्यांक सरकारसँग छैन ।
onlinekhabar
