कार्तिक २८ सल्यान
पुराना मुखाकृत लोक गितहरु सङ्कलन गरि जस्ताको त्यस्तै लिपिबद्द रुपमा प्रकाशन गरीएको ‘दर्माली घाउटा’ नामक पुस्तक विमोचन गरीएको छ । पुस्तकमा कोभिड १९ को विषम परिस्थितिमा पनि स्थानीय कला संस्कृतिका पारखी, जुझारु साहित्यकार तथा पत्रकार हिरालाल के.सि.ले दार्मा गाउपालिकाका सबै बस्ती बस्तीमा गई दार्माली जन जिब्रोमा रहेका लोकगीत (घाउटा) हरुको, परापुर्वकाल देखि हाम्रा पुर्खाले सृजना गरि पुस्तामा हस्तान्तरण हुँदै आएका तर हाल लोपोन्मुख अबस्थामा रहेका दार्माको आफ्नै कला सस्कृती पुराना घाउटा सङ्कलन गरिएको छ दार्मा गाउँपालिका र आसपासका क्षेत्रमा जनजिब्रोमा रहेका लोकगीत (घाउटा) हरुको संकलन गरी प्रकाशन गरिएको हो । उक्त पुस्तकलाई दार्मा गाउँपालिकाले प्रकाशनम ल्याएको हो । बिहीबार गाउँपालिकाको केन्द्र फारुलाचौरमा एक विशेष कार्यक्रमको आयोजना गरी ‘दर्माली घाउटा’ पुस्तकको लोकार्पण गरिएको छ ।


दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के.सि.को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रगतिशील लेखक संघ जिल्ला समिति सल्यानका संयोजक, राप्ती साहित्य परिषदका सल्लाहकार तथा लोकवार्ता केन्द्र परिषद सचिवालय सदस्य डा. पूर्ण भण्डारी पङ्कजले पुस्तकको विमोचन गरेका हुन् । प्रगतिशील लेखक एवम् साहित्यकार वीरेन्द्र शाहीले पुस्तकको समालोचना गरेका थिए । कार्यक्रममा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण अनुगमन मूल्याङ्कन विज्ञ पवनराज देवकोटा, नेपाल पत्रकार महासंघ जिल्ला समिति सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा, राप्ती साहित्य परिषद् सल्यान शाखा उपाध्यक्ष एवम् रेडियो तहल्का एफएम सल्यानका स्टेशन म्यानेजर डिल्लीराज रावत, बागचौर नगर साहित्य परिषद्का अध्यक्ष इन्द्र भण्डारी अंकित, कलाकार विनोदबाबू केसी लगायतका साहित्यकार एवम् कलाकारको समेत आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सल्यानको लोक संस्कृतिका क्षेत्रमा कलम चलाउँदै आएका बुद्धिजीवी, प्राध्यापक, संस्कृतिविद्हरुका साथै लोकगीत (घाउटा) गाउने वृद्ध बाआमाहरु लगायतको उल्लेख्य उपस्थिति थियो । उनीहरुले कार्यक्रममा लोक गीत (घाउटा) का बारेमा चर्चा परिचर्चा गर्नुका साथै वृद्ध बाआमाहरुले घाउटा गाएर सुनाएका थिए । दार्मा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन एस.पी ढकालले गरेका थिए ।

के हो त, घाउटा ?


जनजिब्रोमा रहेका र पुस्तान्तरण हुँदै आएका लोकगीत र लोकसाहित्यलाई पश्चिम नेपाल र विशेष गरी सल्यानमा घाउटा भनेर चिनिन्छ । पुस्तकमा उल्लेख गरिए अनुसार ‘रसिलो, भरिलो, हँस्यौलो, ठट्यौलो र अड्काउ शब्दहरुले सिर्जना भएका गीतका टुक्काहरुलाई घाउटा भनिन्छ । घाउटा दोहोरो र एकोहोरो दुवै खालको हुन्छ । दोहोरो घाउटामा छेडछाड, बात सवाल र अड्काउ बढी हुन्छ । कतै कतै यसलाई अड्को पनि भनिन्छ । दोहोरो घाउटालाई कसैले गाउँखाने कथाको संज्ञा दिए पनि यो गीतमा सीमित भएकोले सोध्दा वा उत्तर दिँदा गाउँ लिने दिने चलन छैन ।
दोहोरी घाउटालाई कतै कतै भाका हालेर गाउने गरिए पनि धेरै जसो ठाउँहरुमा लय मात्र मिलाएर ओठे सवाल जवाफको रुपमा व्यक्त गरिन्छ । एकोहोरो घाउटा भने सिंगारु, टप्पा (कुटकुट्या) र ठाडीभाकामा भाका हालेर गाइन्छ । दोहोरी घाउटाको रुपमा हेर्दा ठट्यौलो भए पनि सारमा गहिरो अर्थ दिने खालका बौद्धिक टुक्काहरु हुन्छन् । कुनै कुनै दोहोरी घाउटाका टुक्का भने नबुझिने र प्रश्नको उत्तर नै नभेटिएका पनि हुन्छन् । खासगरी जुम्लाको सिँजाबाट नेपाली खस भाषाको उत्पत्ति हुँदै गर्दा स्थान अनुसार त्यो भाषाको विकास भई घाउटा साहित्य र लोकभाकाको शुरुवात भएको अनुमान गरिन्छ । विभिन्न स्रोतहरुका अनुसार भेरी, कर्णाली क्षेत्रमा बढी प्रयोग हुने घाउटा साहित्यको उद्गम थलो जाजरकोट जिल्लाको मजकोट दरा हो ।’